काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मेनपावरहरूमा अनियमित रूपमा अनुगमन गर्ने कार्यले व्यवसायीहरूमा आतंक सिर्जना भएको जनाएको छ । यसै सन्दर्भलाई लिएर विहीबार सङ्घका अध्यक्ष भुवन सिंह गुरुङ समेतको प्रतिनिधिमण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक समक्ष भेट गरेको छ । भेटघाटका क्रममा संघले मेनपावरहरू आधिकारिक संस्था भएकोले प्रक्रियागत रुपमा जानकारी दिएर मात्र अनुगमन गर्न आग्रह गरेको जनाएको छ । कतिपय मेनपावर कम्पनीहरूमा अनुगमनका क्रममा विभागका कर्मचारीहरु छदम भेष धारण गरी सेवाग्राहीको रुपमा प्रवेश गर्ने गरेको गुनासो संघको छ ।
अर्कोतर्फ वैदेशिक रोजगार विभागले नियमित कार्यक्रम अन्तर्गत नै मेनपावर कम्पनीहरूमा अनुगमन भएको र व्यवसायीहरुलाई आतंकित हुनुपर्ने अवस्था नरहेको जनाएको छ । विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले ताजा अपडेटसँगको संक्षिप्त कुराकानीमा ऐन नियमद्वारा निर्देशित चेकलिस्ट अनुसार नै मेनपावर कम्पनीहरूको अनुगमन गरिएको हो । तोकिएको चेकलिस्ट तयार नगर्नु र सोही अनुसारको डकुमेन्ट दुरुस्त नराख्नु म्यानपावर कम्पनीहरूको कमजोरी रहेको बताए । कतिपय मेनपावर कम्पनीहरूको उजुरी परेको सन्दर्भमा आवश्यक अनुसन्धानका लागि अनुगमन गर्ने कर्मचारीहरु सेवाग्राहीको रुपमा प्रवेश गर्ने गरेको तर नियमित अनुगमनका क्रममा कर्मचारीले आफ्नो परिचय दिएर मात्र कार्यालय प्रवेश गर्ने गरेको उनले बताए ।
अनुगमनका क्रममा व्यवसायीहरूसँग रकम माग गर्ने गरेको गुनासो व्यवसायीहरूबाट आउने गरेको सन्दर्भमा महानिर्देशक भट्टराईले कर्मचारीहरूलाई टेन्ड गरेर मात्र अनुगमनमा पठाइएकाले त्यस्तो कार्य नभएको र कतै अनियमितता भएको पाइए तत्काल कार्यालयमा जानकारी दिन आग्रह गरे ।