शाखा अधिकृत भट्टराईविरुद्ध ४ करोड ४० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शाखा अधिकृतविरुद्ध ४ करोड ४० लाख १५ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस सरकारको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत (आठौं) मिनबहादुर भट्टराईविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अधिकृत भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा सार्वजनिक सेवामा प्रवेश गरेको अवधिको वैध आय र सम्पत्तिको हिसाब निकाल्दा स्रोत नखुलेको रकम बिगो मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले उनको सेवा अवधि २०५४ साउन २६ देखि २०७९ जेठ ३० सम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोहीअनुसारको अन्तिम समग्र आय तथा व्ययको विश्लेषण गरेको जनाएको छ । उनको वैध आय ५ करोड ९४ लाख ६७ हजार र उक्त अवधिमा खर्च, लगानी र बैंक मौज्दात १० करोड २३ लाख ९२ हजार देखिन आएको आयोगको अभियोग पत्रमा छ । सिर्जित आयबाट निजको व्यय घटाउँदा हुन आउने रकम ४ करोड २९ लाख २५ हजार रुपैयाँ भए पनि उक्त अवधिमा स्रोत नखुलेका खर्च तथा लगानी (सम्पत्ति) रकम ४ करोड ४० लाख १५ हजार रुपैयाँको वैधानिक स्रोत नखुलेको आयोगको ठहर छ ।
वैध आयका तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैरकानुनी आर्जन गरेको पाइएकाले साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

Spread the love