श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता

 

काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठी मार्फत श्रम प्रशासन, आन्तरिक तथा वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, सीप विकास, र संस्थागत सुधारका क्षेत्रमा केन्द्रित २२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।
गोष्ठीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले डिजिटल सेवा प्रणाली, समन्वित संरचना, र नतिजा मूलक कार्यशैली मार्फत श्रमिकमाथिको विश्वास बहाली गर्ने स्पष्ट संकेत दिएका छन् ।
मन्त्री भण्डारीले समीक्षा समापन गोष्ठीमा बोल्दै श्रम मन्त्रालय विकासे मन्त्रालय जस्तो नभएको उल्लेख गर्दै मन्त्रालयलाई फेसलेस र पेपरलेस सेवा प्रणालीमा रूपान्तरण गर्नु अबको आवश्यकता भएको बताए।
मन्त्रालयले प्रस्तुत प्रतिबद्धताहरूमा श्रम ऐन र नियमको प्रभावकारी कार्यान्वयन, श्रमिक अधिकार संरक्षण, श्रम निरीक्षण प्रणालीको सुधार, न्यूनतम ज्यालादेखि स्वास्थ्य परीक्षणसम्मका कार्यक्रमहरू, आन्तरिक रोजगार दशक कार्यान्वयन, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धन, सामाजिक सुरक्षा कोषमा समावेशीकरण, र डिजिटल सेवा प्रणाली मार्फत सहज पहुँच सुनिश्चित गर्ने कार्यक्रमहरू समावेश छन् ।
मन्त्रालयद्धारा श्रावण १३ र १४ गते मातहतका सम्पूर्ण केन्द्र, विभाग, बोर्ड, श्रम न्याधिकरण, मन्त्रालयका शाखाहरुको गत आर्थिक बर्षका क्रियाकलापहरुको बिषयमा बार्षिक समीक्षा गरिएको थियो ।

Spread the love