काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले एसोसिएसनको निर्णय विरुद्ध कार्य गर्ने चार जनालाई स्पष्टीकरण सोधेको छ । एसोसिएसनको आधिकारिक निर्णय विरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा उम्मेदवारी दिएको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोधिएको संघले जनाएको छ। स्पष्टीकरण सोधिनेमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्षका उम्मेद्वार सुजित कुमार श्रेष्ठ, महासचिवका उम्मेदवार कर्णराज कटवाल, सदस्यका उम्मेदवार हेमा गुरुङ,चन्द्रबहादुर लिम्बु,सचिवका स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटा रहेको एसोसिएसनका अध्यक्ष दीपक थापाले बताए ।एसोसिएसनको चैत्र २५ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनले २४ घण्टाभित्र स्पष्टीकरण नबुझाएमा संस्थाको साधारण सदस्यबाट समेत निष्कासन हुनेगरी कारबाही गरिने जनाएको छ। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकोले नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा समेत स्पष्टीकरण सोधिएको पत्रको बोधार्थ दिइएको अध्यक्ष दीपक थापाले बताए ।
केही अघि एसोसिएसनले नेकपा माओवादी केन्द्रको सुभेच्छुक संस्था गणतान्त्रिक मञ्चसँग सहकार्य गरी भुवनसिंह गुरुङलाई अध्यक्ष र सचिवमा गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जे डिङ्दोङ समेतको संयुक्त उम्मेदवारी घोषणा गरेपछि लोकतान्त्रिककै असन्तुष्ट पक्षका सुजितकुमार श्रेष्ठ कर्णराज कटुवाल लगायतले गणतान्त्रिक मञ्चसँग सहकार्य गर्ने पार्टीको नीति नरहेको भन्दै नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चसँग सहकार्य गर्दै मञ्चका तर्फबाट अध्यक्ष नरेश गेलाल समूहको प्यानलबाट उम्मेद्वारी दिएका थिए ।