संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी

सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुग्नुभयो । कोभिड–१९को संक्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन र कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक कक्षको अवलोकन गर्नुभएको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शपछि स्थलगत अवलोकन गर्नुभएको उहाँले बताउनुभयो ।

बजेट अधिवेशन आह्वान गर्ने तयारी सरकारले गरेपछि सचिवालयले पनि कोभिड–१९को रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थाको तयारीलाई तिब्रता दिएको छ । कोभिड–१९को जोखिमका बिच सामाजिक दुरी कायम गर्दै स्वास्थ्यको दृष्टिले अपनाउने विषयमा ध्यान दिइएको सहप्रवक्ता धमलाले बताउनुभयो । त्यसका लागि सदस्यहरुको बसाइ एउटा सिट अल्टरनेट गर्ने, संयुक्त बैठकका लागि थप सिटहरु थप्ने लगायतको काम भइरहेको उहँले बताउनुभयो । त्यस्तै संसद भवनमा प्रवेश गर्दा डिसइन्फेक्सन गेट राख्ने, ज्वरो नाप्ने व्यवस्था गरिने तथा स्यानिटाइजरको प्रयोग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । बैठक कक्षभित्र पनि स्वास्थ्यको दृष्टिकोणले सावधानी अपनाइने उहाँले बताउनुभयो ।
१५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ । त्यसअघि नीति तथा कार्यक्रम, प्रि बजेट लगायतका विषयमा समेत संसदमा छलफल हुनुपर्छ । त्यसैले लामो समयको लकडाउनका कारण समय कम भएकाले छिटो भन्दा छिटो अधिवेशन आह्वान गर्ने तयारीमा सरकार छ । सम्भवतः जेठको पहिलो साता अधिवेशन सुरु गर्ने तयारी सरकारले गरिरहेको छ । बजेट अधिवेशनको सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था रहेकोछ ।

Spread the love