सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योगको मान्यता दिइनेछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।मंगलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सञ्चार माध्यमको व्यवसायिक र संस्थागत विकासका लागि सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले आम सञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले पत्रकार र सञ्चारमाध्यमहरुको पेशागत र भौतिक सुरक्षाको प्रत्याभुति गरिने बताउनु भयो । त्यस्तै पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले श्रमजीवि पत्रकारका लागि निर्मित कानूनहरुको प्रभावकारी कार्यान्वयन गरिने र सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रुपमा स्थापित गरिने बताउनु भयो । उहाँले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारण गरेर अगाडी बढेको उल्लेख गर्नुभयो । लोकतन्त्रको सुदृढिकरण, संविधानको रक्षा, अर्थतन्त्रको सुधार र जनसेवा सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारको कार्यभारलाई व्यवस्थित रुपले संप्रेषण गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सूचना तथा समाचार संप्रेषणमा नेपाल टेलिभिजनले खेलेको भुमिका महत्वपूणर् रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले नेपाल टेलिभिजन सबै समुदायको अपनत्व हुनेगरी अगाडी बढेको बताउनु भयो । त्यस्तै राज्यप्रणालीमा परिवर्तन भएअनुरुप नेपाल टेलिभिजनले पनि आफूलाई रुपान्तरण गर्दै जानु सह्रानिय काम भएको बताउनु भयो ।

Spread the love