‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सपनामा चुनौती बढ्योः प्रधानमन्त्री ओली

जेठ २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपनामा समस्या सृजना भएको बताएका छन् ।

‘नेपाल धितोपत्र बोर्ड २९ औं बर्षमा प्रबेश गरेको अबसरमा आज मंगलबार शुभकामना दिंदै ओलीले भने,‘ हाम्रा राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपियो ।’

उनले कोरोना संक्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती बढेको बताए । ओलीको शुभकामना सन्देशमा भनिएको छ,‘कोभिड–१० को महामारीबाट विश्व अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा नेपाललाई पनि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ ।’

यद्यपि सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालन गरी जोखिम न्यूनीकरण गर्दै समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि देशको वित्तीय क्षेत्र एवं समग्र अर्थतन्त्र गतिशील बनाउन तथा लगानीकर्ताको मनोबल उच्च बनाइराख्न पुँजी बजारका हालका गतिविधिले महत्वूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

आगामी दिनमा धितोपत्र बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजारको विश्वसनीय एवं गतिशील विकास तथा विस्तार मार्फत् देशको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास प्रधानमन्त्रीको छ । ओलीले अबका दिन समृद्धिकै यात्रा हुने पनि दावी गरे । चूनौती बढेपनि समस्या हल गरेर अघि बढ्नुको बिकल्प नभएको बताए ।

Spread the love