सरकारले के के सहुलियत र सुबिधा दियो ?

जेठ १५, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ५० अर्ब रुपैयाँको व्यावसायिक कर्जालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने बताएका छन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आज शनिबार अर्थमन्त्री पौडेलले ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुने पुनकर्जा सुविधा पनि निरन्तर हुने बताएका हुन् ।

त्यस्तै सहुलियतपूर्ण पुनकर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिन १३ अर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए । निर्माण व्यवसायीले राख्ने बैंक ग्यारेन्टीमध्ये रिटेन्सन मनीका रुपमा ५० प्रतिशत फिर्ता लिएर चालु पुँजीका रूपमा प्रयोग गर्न दिने व्यवस्था भएको छ ।

यसका अतिरिक्त उनले मासिक २० हजार लिटरसम्मको खानेपानी गार्हस्थ उपभोक्तालाई छुट घोषणा गरेका छन् । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने उपभोग्य वस्तुहरू चामल, पीठो, नुन, तेल, ग्यासमा २० प्रतिशत छुट बजेटमार्फत् घोषणा भएको छ । विद्युत्को डिमाण्ड शुल्क २० युनिटसम्म शत प्रतिशत, १५० युनिटसम्म सम्म ५० र २५० युनिटसम्म ३० प्रतिशत छुट घोषणा भएको छ । चलचित्र उद्योग र होटल उद्योगलाई विद्युत्को डिमाण्ड शुल्क छुट दिने बजेटमा घोषणा छ ।

अन्य टेलरिङ, ब्युटीपार्लर, वायुसेवा, हेल्थ क्लब लगायत व्यवसायलाई नवीकरण शुल्क छुट दिईको छ । होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह सुविधा दिइने भएको छ । साथै तरकारी, दूध लगायत नाशवान वस्तुको ढुवानी भाडामा २५ प्रतिशत छुट प्रदान गरिएको छ । १६ वर्ष माथिका विद्यार्थीलाई १ प्रतिशत ब्याजदरमा दुई वर्ष अवधिको ऋण दिइने बजेटले घोषणा गरेको छ ।

त्यसैगरि, सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए । आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सरकारले यस्तो व्यवस्था गरेको हो।

Spread the love