सरकारले बनाइदियो डेढ लाख परिवारलाई सुरक्षित आवास

काठमाडौँ । सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत डेढ लाख परिवारलाई सुरक्षित आवास अनुदान दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार सार्वजनिक सरकारको प्रगतिमा सरकारले कार्यक्रमअन्तर्गत अहिलेसम्म डेढ लाखभन्दा धेरै परिवारलाई सुरक्षित आवास बनाएको उल्लेख छ ।
हाल शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सो कार्यक्रमबाट १ लाख ६२ हजार ७२० लाभग्राहीका लागि सुरक्षित नागरिक आवास भवन निर्माण भएको हो । त्यस्तै, मन्त्रालयले देशका विभिन्न स्थानमा ३६ वटा बस्तीहरूमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
हाल सुरक्षित आवासका लागि २९ लाख ९९२ परिवार छनोट भई आवास निर्माण प्रक्रिया अघि बढेको छ ।
सरकारले पछिल्लो वर्षमा थप ३५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरेको छ भने अन्य ३८ वटा सरकारी कार्यालय भवन निर्माण भइरहेका छन् । पछिल्लो एक वर्षमा देशभर १४ वटा सभाहलहरू निर्माण सम्पन्न भएको छन् । त्यस्तै, अन्य १६ वटा सभाहलहरू निर्माण भइरहेका छन् ।
भूकम्पबाट क्षति भएका ९ सय २० वटा पुरातात्विक सम्पदामध्ये हालसम्म ७ सय २६ वटा सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
मन्त्रालयका अनुसार वाग्मती लगायत यसका सहायक नदीहरूमा इन्टरसेप्टर ढल निर्माण, कोरिडोर सडक कालोपत्रे, अस्फाल्ट कङ्क्रिट गर्ने तथा नदी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिइएको छ ।
त्यस्तै, नदी किनारामा पार्क तथा वातावरणीय सुधारसम्बन्धी निर्माण कार्य चलिरहेको छ भने यही वर्ष धाप ड्याम निर्माण सम्पन्न गरेको छ ।

Spread the love