सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको खुलासा

माघ २४,काठमाडौं ।  केमिकल एन्ड मेडिकल आपूर्तिकर्ता संघ (केमसन)का अध्यक्षमा सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको खुलासा गर्नु भएको छ ।

स्वास्थ्य परीक्षण उपकरण र रसायन आयातकर्ताहरुको छाता सगंठन (केमसन)का अध्यक्ष घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले मेडिकल औषधीहरु आयात नीतिगत रुपमा व्यवस्थित भए पनि स्वास्थ्य उपकरणहरुको आयातमा भने मन लाग्दी हुने गरेको बताउनु भयो । अध्यक्ष घिमिरेले सरकारसँग गुणस्तरीय स्वास्थ्य सामाग्री आयात भए÷नभएरको परीक्षण गर्ने नीतिगत व्यवस्थासम्म पनि नभएको बताउनु भयो । उहाँले राज्यसँग स्वास्थ्य उपकरण गुणस्तर परीक्षण गर्ने मेकानिजम नै नभएकाले कोरोना महामारीको समयमा स्वास्थ्य सामाग्री जथाभावी रुपमा आयात भएको तथ्य स्मरण गराउनु भयो ।

कपडा, फलफूल आयात गर्ने व्यवसायीले समेत नेपालमा स्वास्थ्य उपकरणका सामाग्री आयात गर्ने गरेको उहाँको भनाई छ । अध्यक्ष घिमिरेले सरकारले स्वास्थ्य उपकरण सामानको बजारमा गुणस्तरियता भन्दापनि व्यापारीहरुले कति नाफा खाए भनेर मात्रै अनुगमन गर्ने आरोप लगाउनु भयो । सरकारले तत्काल स्वास्थ्य सामाग्रीको गुणस्तरीयता परीक्षणका लागि ल्यापको व्यवस्था गर्नुपर्ने अध्यक्ष घिमिरेले बताउनु भयो ।

त्यस्तै अध्यक्ष घिमिरेले कोरोना महामारीको शुरुवातको जस्तै पछिल्लो समय स्वास्थ्य उपकरणको अभाव नभएको बताउनु भयो । उहाँले अहिले बजारमा कुनै पनि मेडिकल उपकरणहरुको अभाव नरहेको बताउनु भयो । अहिले बजारमा औषधीको धेरै माग भएकाले पारासिटामोल लुकाएर कृतिम अभाव भएको घिमिरेले स्वीकार गर्नु भयो । उहाँले आपूर्ति संघले गुणस्तरहीन सामान आयात रोक्नको लागि बारम्बार सरकारसँग छलफल गर्दैै आएको बताउनु भयो । तर सरकारले स्वास्थ्य उपकरण आयात गर्दा गुणस्तरीय मापन गर्ने कार्यविधि २०७०÷७१ सालमा बने पनि अहिलेसम्म कार्यान्वयनमा नल्याएको अध्यक्ष घिमिरेले गुनासो गर्नु भयो ।

अध्यक्ष घिमिरले पछिल्लो समय स्वास्थ्य उपकरणका विभिन्न स्वास्थ्य सामाग्रीहरु बजारमा नक्कली पाउन थालेकाले यस्ता सामाग्री आयात नगर्न व्यवसायीहरुलाई संघले सचेत गराउँदै आएको बताउनु भयो ।

 

Spread the love