स्रोत नखुलेको १९ लाख ९० हजारसहित हुण्डी कारोबारी पक्राउ

विराटनगर । प्रहरीले स्रोत नखुलेको १९ हजार ९० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-६ केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-५ का उनी हुण्डी कारोबारमा संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा साहलाई विराटनगर केशलिया मार्गबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार साहलाई बरामद गरिएको नगद र उनले प्रयोग गरेको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।

अवैध हुण्डी कारोवारलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले त्यसमा संलग्न कारोबारीहरूको सुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न विशेष अपरेशन सञ्चालन गरेको जनाएको छ ।

यसक्रममा गत कात्तिक १४ गते १६ वर्षीय बालकलाई नगद २१ लाख ८७ हजार रकमसहित पक्राउ गरिएको थियो । उनलाई हुण्डी कारोबारीहरुले प्रयोग गरेको पाइएको थियो ।

यसैगरी, यसअघि विराटनगर-१५ सुडी वस्ती बस्ने धर्मानन्द साहलाई ४ लाख ७५ हजारसहित पक्राउ गरिएको थियो भने विराटनगर-१५ का रञ्जितकुमार साहलाई ९ लाख २० हजारसहित पक्राउ गरिएको थियो ।

Spread the love