काठमाडौं । सत्ता गठबन्धन बचाउन नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचन स्थगित गरिएको छ । फाल्गुण २ गते निर्वाचन हुने कार्यतालिका थियो । विषेश गरी नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष तहको दवावमा निर्वाचन स्थगित गरिएको हो । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक विच प्रतिस्पर्धा हुने स्थिति आएपछि त्यसको असर सत्ता गठबन्धनमा पर्ने आकलन गरी शीर्ष नेतृत्वकोे दवावमा निर्वाचन स्थगित भएको संबद्ध श्रोतको भनाई छ ।
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनको माहौल तातिसकेको थियो । विभिन्न विचारधारा, सिद्धान्त अवलम्बन गर्ने पेसागत संगठनहरुले निर्वाचनका लागि उम्मेदवार छनौट गरिसकेका थिए । एकाएक निर्वाचन स्थगित भयो । वैदेशिक रोजगार व्यवसायी संघमा आवधिक निर्वाचन हुन नसक्दा प्रजातान्त्रिक विधि र पद्धतिको संस्थागत विकासमा अबरोध सृजना भएको व्यवसायीहरुको तर्क छ ।
नेपाली कांग्रेस संबद्ध लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एसोसिएसनको आधिकारिक पक्षले समेत निर्वाचन स्थगितको विरोध गरेको छ । प्रजातान्त्रिक विधि र पद्धतिको संस्थागत विकासमा कटिबद्ध रहेका लोकतान्त्रिक एसोसिएसनका साथै गणतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी संघ, एकीकृत बैदेशिक रोजगार ब्यवसायी संघ, तराई मधेश बैदेशिक रोजगार ब्यवसायीमंच, बैदेशिक रोजगार ब्यवसायी एकता समाज निर्वाचन स्थगितको विरोधमा संयुक्त आन्दोलनमा छन् ।
