दैनिक उपभोग्य वस्तुको अभाव नहुने

कोरोना भाइरसका कारण दैनिक उपभोग्य वस्तुको अभाव हुने हल्लाकाबीच विभिन्न क्षेत्रका व्यवसायीहरुले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको अगुवाईमा भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले उपभोग्य वस्तुहरु पर्याप्त मात्रामा भण्डारण रहेको र आयात भइरहेकाले नआत्तिन आग्रह गरेका हुन् । मंगलबार नेपाल खुद्रा व्यापार संघ, साल्ट ट्रेडिङ, एलपी ग्यास उद्योग संघ, औषधि उत्पादक संघ र नेपाल आयल निगमका पदाधिकारीहरुले नेपालमा कुनै पनि वस्तुको अभाव नरहेको बताएका हुन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बर्जाचार्यले उपभोक्ताहरु आत्तिएर ५, ६ बोरा चामल, ४, ५ लिटर तेल तर २० प्याकेटसम्म नुन किनेको पाइएको बताउनुभयो । कुनैपनि वस्तुको मूल्य नबढेको र खाद्यन्न अभाव पनि नभएको उहाँले बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका आपूर्ति व्यवस्थापन समिति सभापति देवेन्द्रभक्त श्रेष्ठले थोक व्यापार संघले २ महिनाका लागि खाद्यन्न पर्याप्त रहेकाले कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको बताउनुभयो । साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १ लाख ५५ हजार मेट्रिक टनभन्दा बढी नुन साल्ट ट्रेडिङसँग रहेको बताउनुभयो । गतवर्षको खपत भएको आँकडा भण्डारण रहेको मात्रा हेर्दा अझै ११ महिनासम्म पुग्ने नुन रहेकाले निर्धक्क भएर बस्न आग्रह गर्नुभयो । चिनिपनि पर्याप्त मात्रामा रहेको भएपनि बजारमा आउन नसकेको उहाँले बताउनुभयो ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले विगतमा आयात भइरहेको मात्रामै ग्यास आइरहेको बताउनुभयो । प्रत्येक दिन नेपालभरी १ लाख सिलिण्डर खपत हुने गरेकोमा अहिलेपनि त्यही अनुपातमा आयात भइरहेको उहाँले बताउनुभयो । महिलामा १ सिलिण्डर खपत गर्ने उपभोक्ताले ३, ४ सिलिण्डर लिने गरेका कारण डिपोहरुमा लाइन देखिएको उहाँले बताउनुभयो ।
औषधि उत्पादक संघका पूर्व अध्यक्ष शंकर घिमिरेले औषधि कच्चा पदार्थ तीन महिनाका लागि र उत्पादन भएको औषधि तीन महिनाका लागि स्टक रहेको बताउनुभयो । बजारमा ब्लड प्रेसर, सुगर र मधुमेहका रोगीहरुले बढी मात्रामा औषधि लिनेगरेपनि आपूर्तिमा कमि नहुने उहाँले बताउनुभयो ।
नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल, डिजल पाइदैन भनेर घरमा होल्ड गरेर नराख्न आग्रह गर्नुभयो । घरमा होल्ड गरेर राख्दा अर्को ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले त्यसतर्फ सचेत हुन उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले सरकारले निगरानी र नियन्त्रणलाई महत्वपूर्ण रुपमा लिएको बताउनुभयो । तेस्रो मुलुकबाट आउने नागरिकलाई निगरानी गर्ने र संक्रमणको आशंका भएकाहरुलाई नियन्त्रणमा लिएर अस्पताल लैजाने गरिएको उहाँले बताउनुभयो । उहाँले सचेतना र सजगता अभिवृद्धिका लागि गाउँस्तरसम्म समिति गठन गरेर काम भइरहेको बताउनुभयो ।

आजै नेपाल सरकारले विभिन्न सरोकारवालाहरुसँग कोरोना भाइरसले जनजीवनमा पार्न सक्ने स्वास्थ्य, सामाजिक, आर्थिक, व्यााकिर र व्यवसायीक विषयमा छलफल गरेको छ । बैठकले सबै राजनीतिक दलहरुसँग समेत छलफल गरेर एकीकृत रुपमा अगाडी बढ्ने निर्णय पनि गरिसकेको छ ।

Spread the love