सरकारले संविधान संशोधनका लागि संघीय संसदमा प्रस्ताव दर्ता गर्ने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय गरेको हो । अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमा अनुसार मिलाउन संविधान संशोधन गर्ने निर्णय भएको सरकरका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो ।

अर्थ÷सञ्चारमन्त्री समेत रहनुभएका प्रवक्ता डा. खतिवडाले अनुसूची ३ र निशान छापलाई परिमार्जन गर्न मात्रै संविधान संशोधनको प्रस्ताव पेश हुने बताउनुभयो । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधनको आवश्यकता परेको हो ।

नक्सा जारी गरेपछि उत्पन्न विवाद समाधानका लागि सरकारले वार्ताको प्रयास गरिरहको उहाँले बताउनुभयो । कुटनीतिक माध्यमबाट वार्ता गरी समस्या समाधान हुनेमा सरकार आशावादी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अन्तर्राष्ट्रियकरण गर्ने अवस्था सोचेका छैनौँ । हामीसँग भएका तथ्य, प्रमाणहरुका आधारमा छिमेकीहरुसँग वार्ता गरेर समस्या समाधान गर्ने प्रयास हुन्छ । त्यसपछि मात्रै के गर्ने भन्ने कुरा हुन्छ ।’’

Spread the love