उद्योग व्यवसाय खोल्न सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको एक मत

उद्योगी व्यवसायीहरुले लकडाउनको मोडालिटी परिवर्तन गरी स्वास्थ्य सुरक्षा अपनाई सबै क्षेत्रलाई खोल्नुपर्ने बताएका छन् । लामो समय लकडाउन हुदा श्रमिक र उद्योगी व्यवसायी सबै समस्यामा परेकाले अब उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेकोमा सबै क्षेत्रका उद्योगी व्यवसायीहरु एक मत देखिएका छन् । उनीहरुले सबैभन्दा पहिला साना तथा मझौला उद्योग र पसल व्यवसायलाई सञ्चालन गर्न सकिने, यातायातका साधनहरुलाई पनि पहिलो प्राथमिकतामा राखेर खोल्नुपर्ने, होटल व्यवसायलाई क्रमश सञ्चालन गर्नुपर्ने गरी चरणवद्ध र योजनावद्ध रुपमा सबै क्षेत्रलाई खोल्नु पर्ने बताएका छन् ।
उद्योगी व्यवसायीहरुले लामो समय लकडाउन भएका कारण हरेक वस्तु तथा सेवा अत्यावस्यक भइसकेकाले तत्काल खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिएका हुन् । उत्पादन मुलक उद्योगलाई खोल्ने तर यातायात र पसलहरुलाई नखोल्ने हो भने कुनै अर्थ नहुने भएकाले सबै क्षेत्रलाई प्राथमिकतामा राखेर न्यूनतम स्वास्थ्य सुरक्षाका विधिहरु अपनाई खोल्ने व्यवस्था गर्नुपर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् ।

Spread the love