अब वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्म भक्तमा बेग्लै वार्ड

काठमाडौं । दुई दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ ।
मन्त्री पौडेलले विदेशिएका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा त्यहीं रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि बढाएको योजना अनुसार काम गर्ने गरी शहीद धर्भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम थाल्ने निर्णय गरेको हो ।
मन्त्री पौडेलले केहीदिन भित्रै रोजगारीमा रहेका तथा वैदेशिक रोजगारीबाट फर्किएको स्वास्थ्य रक्षाका लागि निर्णय गर्ने घोषणा गरेका थिए । उनले यसका लागि युएईका स्वास्थ्य विभाग अध्यक्षसँग समेत वार्ता गरेका थिए ।
केन्द्रका कार्यकारी निर्देशकडा. पुकारचन्द्र श्रेष्ठका अनुसार अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडीवार्ड स्थापना गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले बताए ।


यसैगरी केन्द्रले वैदेशिक रोजगारीमा जानेका लागिश्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने अभिमुखिकरण तालिममा नसर्ने रोग सम्बन्धी जानकारी र बच्न अपाउन सकिने उपायबारे जानकारीका लागि विज्ञ चिकित्सक खटाउने भएको छ । वैदेशिक रोजगार बोर्डलाई नसर्ने रोगसम्बन्धी जानकारी मूलक सामग्री समेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ ।
यसैगरी, विदेशमै रहेका बखत देखिएका स्वास्थ्य समस्या समाधानका लागि बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालबाट परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धर्मभक्तले खटाउने भएको छ ।
यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्ट समेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ ।


यी निर्णयहरु कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यमा निरोधात्मक तथा उपचारात्मक दुवै सुधार हुने भएकाले अहिले देखिएको स्वास्थ्य समस्यामा कमी आउने मन्त्रालयको विश्वास रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

Spread the love