सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्दै स्वास्थ्य मन्त्रीले दिए शुभकामना

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्दै शुभकामना दिनुभएको छ । उहाले पार्टी भित्र र बाहिरबाट मति विग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिनुभएको हो । मंगलबार थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति विग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लडन मति सप्रियोस भन्दै शुभकामना दिनुभएको हो ।
उहाँले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरीपनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरुलाई आग्रह गर्नुभयो । सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्ष पछि नै सत्ताको खेलमा लाग्न समेत आग्रह गर्नुभयो । उहाँले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताउनुभयो । कुनैबेल पीपीइ भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको बताउनुभयो । त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताउनुभयो । अहिले सम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताउनुभयो । जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले शिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पार्नुभयो ।

मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताउनुभएको छ । संक्रमणको अवस्था समुदाय स्तरमा देखिएपनि नियन्त्रण्को स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताउनुभयो । अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरु प्रभावकारी भएको बताउनुभयो । महामारीको अप्ठेरोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।

Spread the love