जम्मू–कश्मीरमा बादल फुट्दा मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

काठमाडौं । जम्मू–कश्मीरको किश्तवाडको चाशोती क्षेत्रमा क्लाउड ब्रस्ट हुँदा –बादल फुट्दा) कम्तीमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
किश्तवाड जिल्ला अस्पतालमा अहिलेसम्म ३५ जनाको शव ल्याइएको छ, जस मध्ये ११ जनाको पहिचान भइसकेको छ। मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ।
स्थानीय प्रशासनका अनुसार कम्तीमा ७० जना घाइतेलाई ब्लक र जिल्ला अस्पतालमा भर्ना गरिएको छ। जम्मू–कश्मीरका उपमुख्य मन्त्री सुरिन्दर चौधरीले घाइतेको सङ्ख्या करिब १०० पुगेको जानकारी दिएका छन् ।
घटनास्थलमा अचानक बाढी आएको थियो । यो क्षेत्र मचैलमाता यात्राको सुरुवाती बिन्दु हो, जहाँ घटना बेलाठुलो भीड रहेको बताइएको छ।
भारतीय सेनाको ह्वाइटनाइट कोप्र्सले राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाउँदै ६०–६० सैनिकका पाँच टोली र मेडिकल टिम घटनास्थलमा परिचालन गरिएको जनाएको छ।बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी छ।
जम्मू–कश्मीरको मुख्यमन्त्री कार्यालयले हेल्प डेस्क र कन्ट्रोल रुम नम्बर सार्वजनिक गरेको छ।राष्ट्रपति द्रौपदी मुर्मुले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै राहतका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइने बताएका छन् ।

Spread the love