कोभिडका कारण अन्य रोगका विरामीहरुको उपचारमा समस्या

सरकारी अस्पतालहरु कोभिड अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका विरामीहरुको उपचारमा समस्या देखिएको छ । कोरोना संक्रमणको दर बढेसँगै सरकारी अस्पतालहरुमा कोभिडका विरामी र अन्य रोगका विरामीहरुको चाप पनि बढ्दै गएको छ । कोभिडका विरामीहरुको उपचारले अस्पतालहरुमा प्राथमिकता पाएपछि अन्य रोगका विरामीहरुको उपचारमा भने समस्या भएको हो । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिले आज त्रिवि शिक्षण अस्पतालमा गरेको अनुगमनले अन्य रोगका विरामीहरु उपचार सेवाबाट बञ्चित भएको पाइएको हो ।

हिजो आज अस्पतालमा कोभिडका लक्षण भएका विरामीहरुको संख्या बढी भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले बताउनुभयो । जनशक्तिको अभाव र व्यवस्थापकिय प्रवन्धका कारण अन्य रोगका विरामीहरुको उपचारमा समस्या भएको उहाँले बताउनुभयो । लक्षणसहितका विरामी बढी हुँदा अक्सिजन, भेन्टिलेटर लगायतका अन्य सपोर्टहरु बढी चाहिने गरेको उहाँको भनाई छ । संक्रमणको डरले समेत अन्य रोगका विरामीहरु उपचारका लागि कम मात्रामा अस्पताल आउने गरेका छन । उहाँले कुनै संक्रमितको मृत्यु भएमा शव व्यवस्थापनमा पनि समस्या देखिएको बताउनुभयो ।

शिक्षण अस्पतालमा आत्महत्या, दुर्घटनामा निधन भएका लगायत अन्य पोष्टमार्टन गर्नुपर्ने केसहरु समेत आउने गरेका छन । सरकारी र बढी सेवा सुविधा पाइने कारण आम सर्वसाधारणको रोजाइ बन्ने गरेको शिक्षण अस्पतालमा अहिले सेवाग्राहीको संख्या कम हुँदा आयस्रोत पनि खस्किँदै गएको छ । गत महिनासम्म अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई समयमै तलब खुवाइएको भएपनि यो महिना देखि समस्या हुने डा. काफ्लेले बताउनुभयो । सरकारले कोभिडको उपचारमा खटिनेहरुलाई दिने भनेको प्रोत्साहन भत्ता पनि अहिलेसम्म स्वास्थ्यकर्मीहरुले पाउन सकेका छैनन ।

अनुगमन पछि उपसमिति संयोजक जीवनराम श्रेष्ठले कोभिडका कारण अन्य रोगका विरामीहरुको उपचारमा समस्या भएको जानकारी आफुहरुले पाएको बताउनुभयो । कोभिड संक्रमित र अन्य विरामीहरुको एउटै अस्पतालमा उपचार गराउँदा जोखिम अझ बढी हुनेभएकाले उचित व्यवस्थापनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । विशेष परिस्थितिको व्यवस्थापन गर्दै अस्पतालको आयस्रोत पनि खस्किँदै गएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । शिक्षण अस्पतालमा अन्य रोगका विरामीहरुको संख्या न्यून हुँदा मेडिकल शिक्षाका विभिन्न विधा पढ्दै गरेका विद्यार्थीहरुको पढाइमा समेत समस्या देखिएको छ ।

Spread the love