खसीबोका व्यापारीको गुनासो तर उपभोक्ता मारमा 

सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुले बताएका छन् । तर सरकारले बजार नियन्त्रणका लागि भन्दै जम्मा एक हजार खसीबोेका ल्याएको छ । यो संख्या बजार नियन्त्रणका लागि न्यून हो । त्यसैले दशैंको बेला उपभोक्ताहरु फेरीपनि महँगो मूल्यमा खसीबोका खरिद गर्न बाध्य हुने देखिएको छ ।

काठमाडौंको कलंकीस्थित खसी बजारमा खसीबोका व्यापार गर्दै आएका व्यपारीहरुले दशैंको बेला मूल्य नियन्त्रणका लागि भन्दै सरकारले खरिद मूल्य भन्दा कम मूल्यमा खसीबोका विक्री गरिदिदा आफुहरु मारमा परेको गुनासो गरेका छन् । आफुहरुले किसानबाट खरिद गर्ने मूल्य भन्दा कम मूल्यमा सरकारले विक्री गर्दा समस्या पर्ने गरेको काठमाडौं चौपाया खरिदविक्री प्रालीका अध्यक्ष जनककुमार खडकाले बताउनुभयो । बजार मूल्य नियन्त्रणका लागि भन्दै सरकारले अत्यन्तै कम मूल्य कायम गरिदिदा आफुहरु र उपभोक्ताबिच द्वन्द्व सिर्जना हुने अवस्था रहेको पनि खड्काले बताउनुभयो । यस्तै अर्का व्यापारी कुमार थापाले सरकारले तोक्ने मूल्य र आफुहरुले विक्री गर्ने मूल्यमा पहिला देखि नै फरक पर्ने गरेको बताउनुभयो । आफुहरुले ५ सय ५० रुपैयाँ देखि ६ सय रुपैयाँ सम्म किसानबाट खरिद गरी ल्याएकाले सरकारले तोकेको मूल्यमा विक्री गर्न नसकिने पनि व्यापारीहरुले बताएका छन् ।

व्यापारीहरुले खसीबोकाको मूल्यमा अत्याधिक फरक पार्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले भने नियमित अनुगमन गर्दै आएको छ । महानगरपालिका वडा नंं. १४ का वडा अध्यक्ष शोभा सापकोटाले कस्तो खसी विक्री गर्ने कस्तो नगर्ने भन्ने सम्बन्धमा लगातार अनुगमन गरिरहेको बताउनुभयो । उचित मूल्य निर्धारण गरेर मापदण्ड अनुसार नै विक्री वितरण गर्न समेत सचेत गराइएको पनि उहाँले बताउनुभयो ।

बजार हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्नका लागि भन्दै सरकारले एक हजार खसीबोका ल्याई आजदेखि विक्री शुरु गरेको छ । जुन बजारको मूल्य नियन्त्रणका लागि अप्रयाप्त हो । व्यापारीहरुले सरकारले कम मूल्य निर्धारण गरी बजारमा विवाद उत्पन्न गराउन खोजेको आरोप लगाएपनि फेरी एकदुई दिनमै मूल्यमा चलखेल हुनसक्ने सम्भावना देखिएको छ । यसबाट उपभोक्ताले अधिक मूल्य तिरेर खसीबोका किन्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ । अहिले सरकारले खसी बोकाको मूल्य प्रतिकेजी ५ सय ६० रुपैयाँ तोकेर १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा विक्री गरिरहेको छ । तर खसी बजारमा जिउदो खसीको मूल्य प्रति केजी ६ सय रुपैयाँ देखि ६ सय ५० रुपैयाँ, जिउदो बोकाको मूल्य प्रति केजी ६ सय ५० रुपैयाँ देखि ६ सय ८० रुपैयाँ र च्याङ्ग्राको प्रतिकेजी ९ सय रुपैयाँ देखि ९ सय ८० रुपैयाँ सम्म विक्री वितरण भइराखेको छ ।

Spread the love