खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ ।
कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् । कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहनुभएका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्या नबुझेको बताउनुभयो । अभियानलाई समर्थन नै गर्न खुलामञ्च पुग्नुभएका महतले महानगरपालिका आफैले राहात पु¥याउनुपर्ने ठाउँमा दाताहरुले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा कदापि स्विकार्य नहुने बताउनुभयो ।

कांग्रेस नेता भिमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताउनुभयो । संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उहाँले बताउनुभयो ।

हण्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताउनुभयो । तिहारपछि होटल बुकिङ गरेर भएपनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन भन्दै आएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज पत्रकार सम्मेलन नै गरेर अन्य ठाउँमा व्यवस्थापन गर्न अग्रह गर्दै आवश्यक सहयोग महानगरले गर्ने बताउनुभएको थियो । सक्नेले श्रम गर्नुपर्ने र नसक्नेहरुलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने उहाँले पत्रकार सम्मेलनमा बताउनुभएको थियो ।

Spread the love