डा. गोविन्द केसीको पत्रकार सम्मेलन

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आउनुभएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरुले माफिया र विचौलियासँग मिलेर व्यापार गरिहेको आरोप लगाउनुभएको हो । सबै स्वास्थ्य र शिक्षण संस्थाहरुमा आफ्ना कार्यकर्ताहरुका भर्तिकेन्द्र बनाएर धरासायी बनाइरहेको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो, ‘‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरुमा अपाm्ना कार्यकर्ता भर्ति गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धरासायी बनाइदिने । शिक्षा र स्वास्थ्य सेवामुलक क्षेत्र हो । अहिलेका राजनीतिक दलहरुले शिक्षण र स्वास्थ्य संस्थालाई नाफामुलक क्षेत्रको रुपमा व्यापार गरिरहेका छन् । शीर्ष नेताहरु माफिया, विचौलिया र दलालहरुसँग मिलेर व्यापार गरिरहेका छन् । ’’

डा. केसीले पूँजीवादी भनिने देशहरु समेत शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारिकरण नगरी गुणस्तर कायम सफल रहेको उल्लेख गर्दै नेपालमा भने जनतालाई दुःख दिने काम मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालमा समाजवादीहरुले जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट माग्न जान्छन् । दुई तिहाइको सरकार भएपछि पेटमा लात हान्छन् ।’’

उहाँले आफुसँग भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै निरन्तर खवरदारीको आवश्यकता रहेको बताउनुभयो । डा. केसीले १९ औं अनसनका समयमा आफुसँग भएका सम्झौताहरु कार्यान्वनयको कुन चरणमा पुगे भनेर प्रश्न पनि गर्नुभयो ।

Spread the love