नेपाल बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दे, वार्षिक साढे ८ प्रतिशत ब्याजदर

बैशाख १६, काठमाडौं । नेपालको सबैभन्दा जेठो नेपाल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र वैशाख २२ गतेबाट निष्काशन गर्दैछ ।

वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहने बैंकले जनाएको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि यही बैशाख २२ गतेबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने पनि बैंकले जनाएको छ ।
छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ५ गतेसम्म लम्बिने बैंकले जनाएको छ ।

गत चैत १३ गते नेपाल धितोपत्र बोर्डले निष्काशन गर्न अनुमति दिएको यस ऋणपत्रमा बैंकले लगानीकर्तालाई वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध गराउनेछ । धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । यो नेपालको सबैभन्दा पुरानो बाणिज्य बैंक हो ।

Spread the love

Comment here