इटली सरकारद्धारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

असार १३, काठमाडौँ । इटली सरकारले कोविड नियन्त्रणका लागि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) महामारी विरुद्ध लड्न भेन्टिलेटर सहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन् ।

हस्तान्तरण्का क्रममा नेपालका लागि इटालीकी राजदूत भिन्सेन्जो डि लुका लगायत जर्मनी र फ्रान्सका राजदूत पनि उपस्थित थिए ।

राजदूत डि लुकाले युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत प्रदान गरिएको राहत नेपालीहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको स्रोत भएको बताए ।

यस्तै, युरोपियन युनियनकी राजदूत नोनाले यो सहयोगले नेपालीहरुको अमूल्य जीवन बचाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।

युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो । कोविड नियन्त्रणका लागि नेपाललाई बिभिन्न दातृ राष्ट्रहरुले सहयोग गर्दे आएका छन् ।

Spread the love