आजदेखि देशभरका बिमानस्थलमा आन्तरिक हवाई उडान शुरु

असार १७, काठमाडौं । करिब दुई महिनादेखि रोकिएको आन्तरिक हवाई उडान आज बिहिवारदेखि शुरु भएको छ । बन्दका कारण देशका बिभिन्न स्थानमा रहेका बिमानस्थलहरु सुनसान थिए ।

कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीवारदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्न हवाई कम्पनीहरुलाई अनुमति दिएको हो ।

तर उडान नियमित गरिए पनि पूर्ण रुपमा भने हवाई उडान सञ्चालन नहुने मन्त्रालयले बताएको छ । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ ओटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ । जसअनुसार बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ भने यति एयरलाइन्सले १५ ओटा उडानको अनुमति पाएको छ । त्यसैगरी श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले तीन तीन ओटा उडान गर्न अनुमति पाएको छ ।

दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक आठ ओटा उडानको अनुमति पाएका छन् । यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ भने कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् । तर, जहाजमा भने पुरै यात्रु राखेर संचालन अनुमति दिएको नागरिक उडयन मन्त्रालयले जनाएको छ ।

 

 

Spread the love