नेपाल–चीन तातोपानी नाका महिना दिनदेखि ठप्प

साउन ५, काठमाडौं । भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने तातोपानी नाकाबाट महिना दिनयता मालवाहक सवारी आउजाउ ठप्प छ ।

सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्ग (२६ किलोमिटर) को लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि ठप्प नाका सञ्चालनमा आउन सकेको छैन ।

तातोपानी नाकाको भौतिक पूर्वाधार व्यवस्थित नबनाइँदा दिनहुँ बिग्रँदै गएको भोटेकोसी गाउँपालिकाले जनाएको छ । यहाँको सडक दिनभर बनायो, बेलुकीको पानीले भासिइहाल्छ, लिपिङ पुल झनै जीर्ण बन्दै छ ।

बढ्दो कोरोनाकालमा पनि ‘आइसोलेट एरिया’ सहित मालवाहक सवारी सञ्चालनमा आएको तातोपानी नाका अघिल्लो बर्खाझैं भौतिक अवस्थाकै कारण रोकिने अवस्थामा पुगेको छ । चीनको खासा हुँदै लिपिङ बजार आइपुगेका कन्टेनर क्षतिग्रस्त लिपिङ पुल पार गर्न पूरै भासिने त्रासमा छेउमै रोकिने गरेका छन ।

तसर्थ कामदारले बोकेर कन्टेनरका व्यापारिक सामग्री पुलवारिको बजारसम्म ओसार्छन । त्यहाँ अड्किएका केही कन्टेनर छन्, तिनैबाट कोदारी बजारसम्म सामग्री ल्याएर थुपारेपछि माथिल्लो बाटो हुँदै कामदारले तातोपानी बजारछेउसम्म ल्याउने गरेका छन ।

२५ देखि ३० जनाको कामदारको टोलीले दिनहुँ जोखिम मोलेर जीर्ण पुल र कोदारी सडक हुँदै कन्टेनरसम्म सामान ओसार्ने गरेका छन । एक कन्टेनरको सामग्री ओसार्न कामदारलाई तीनदेखि चार घण्टा लाग्छ । त्यसबाट कामदारको टोलीले एक कन्टेनरबाट २५ देखि ३० हजार रुपैयाँ लिन्छन ।

यसअघि कोदारी र तातोपानी बजार जोड्ने कोदारी खण्डको ३५ मिटर सडक भासिएपछि केही समय मजदुरबाट बोकेर कोदारी बजारसम्म ल्याइएका सामग्री कोदारी स्वरोजगार युवा समाजले चलाएको तुइनबाट तातोपानी बजारको कन्टेनरसम्म ओसारिन्थ्यो ।

सडक र पुलकै कारण साता दिनअघि खासा आइपुगेका अत्यधिक लोडका सामग्री चीन पक्षले फर्काएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ । दिनहुँ दर्जनौं कन्टेनर भित्रिन्थे, अहिले कहिलेकाहीँ केही मात्रै आउँछन्, त्यो पनि लिपिङ बजारमै कन्टेनर अड्किने गरेको कार्यालयले जनाएको छ ।

 

 

Spread the love