बैंकहरु ह्याक गर्न धम्की दिने व्यक्तिको खोजी तिब्र

साउन ७, काठमाडौं । विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ ।
त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको राष्ट्र बैकले जनाएको छ ।
भाइबरमा यस्ता फेक सूचना आएका रहेछन्, यस्तो काम गर्नेको खोजी भइरहेको छ,’ बैंक स्रोतले भन्यो, ‘कुनै ह्याकरले इमेल गरेको पनि होइन । यो त भाइबरमा आएको फेक धम्की हो । प्रहरीको सहयोगमा यस्तो सूचना पठाउनेको खोजी गरिँदैछ ।’

भाइबरमा आएको मेसेजमा राष्ट्र बैंकसहित १५ बैंकको सिष्टम २४ घन्टाभित्र ह्याक गर्ने धम्की थियो । राष्ट्र बैंकले आफ्नो र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की दिएपछि राष्ट्र बैंकले यस्तो स्पष्टीकरण दिएको हो ।

राष्ट्र बैंक र नेपालका बैंकहरुको प्रणाली सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकले प्रयोग गर्ने फायर वालहरु सुरक्षित र ठिक अवस्थामै पाएको र अन्य बैंकहरुले पनि आफ्नो प्रणाली सुरक्षित रहेको जानकारी केन्द्रीय बैंकलाई गराएको छ ।

नेपाल राष्ट्र बैंकसहित चल्तिका १४ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने भन्दै बुधबार बेलुकी धम्की आएको थियो । अपरिचत व्यक्तिबाट फोन र इमेलबाट राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सूचना अधिकारी नारायण प्रसाद पोख्रेललाई धम्की आएको राष्ट्र बैंकले जनाएको छ ।

ह्याकरहरुले पठाएको इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डु, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाम उल्लेख छ । अपरिचत इमेलमा २४ घण्टाभित्र ह्याक गर्ने धम्की दिइएको छ । अहिले राष्ट्र बैंकले प्रहरीसंग मिलेर धम्की दिने व्यक्तिको खोजी गरिरहेको छ ।

 

 

Spread the love