राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । बुधबार सात वटै प्रदेशहरुमा तोकिएको मतदान स्थलमा मतदान सुरु भएको हो । जस अनुसार प्रदेश १ मा २ वटा मतदान स्थल तोकिएको छ । गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेशसभा सदस्यको लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानको व्यवस्था गरिएको छ । त्यसैगरी मधेश प्रदेशमा जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा मतदान कार्य भईरहेको निर्वाचन आयोगले जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, हेटौडामा बागमती प्रदेशको, प्रदेश निर्वाचन कार्यालय पोखरामा गण्डकी प्रदेश, कर्मचारी मिलन केन्द्र, दाङमा लुम्विनी प्रदेशको मतदान भईरहेको छ । कणर्ाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदान भईरहेको छ भने सुदूरपश्चिम प्रदेशको प्रदेशसभा भवन धनघढीमा मतदान भईरहेको छ ।
सातै प्रदेशको कूल मतदाता २०२५ जना रहेका छन । जस अनुसार प्रदेश १ मा प्रदेशसभा सदस्य ९२ जना र स्थानीय तहको २७२ जना सदस्यहरुले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नेछन । मधेश प्रदेशमा १०४ जना प्रदेश सदस्य र स्थानीय तहको २६८ जनागरी ३७२ जना मतदाता रहेका छन । बागमती प्रदेशमा ३४६ जना, गण्डकी प्रदेशमा २२९ जना, २९६ जना लुम्विनी प्रदेशमा, कणर्ाली प्रदेशमा १९१ जना र सुदूरपश्चिम प्रदेशमा २२७ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । बिहान नौं बजेबाट सुरु भएको मतदान अपरान्ह ३ बजे सकिनेछ ।
निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले मिलेर उम्मेदवारी दिएका छन भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक्लै भिड्दैछ ।

Spread the love