बहुमतका आधारमा गरेका निर्णयहरु खारेज गर्न माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकले बहुमतका आधारमा गरेका निर्णयहरु खारेज गर्न माग गर्नुभएको छ । शनिबार कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक बसेपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले यसअघि महासमितिले बनाएको विधानलाई समेत उल्ट्याउने निर्णय गरेको भन्दै खारेज गर्न माग गर्नुभएको हो । पौडेल समुहको बहिस्कारकाबीच शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यकाल एक वर्ष थपेर २०७७ फागुन ७ देखि १० गते सम्म १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेसनको मिति एक वर्ष धकेलिनुले पार्टीको वैधानिक हैसियत गुम्ने बताउनुभयो ।
उहाँले विधानका महत्वपूर्ण धाराहरु निलम्बन गरिएको भन्दै पार्टीलाई कसरी बचाउने भन्ने चिन्ता बढेको बताउनुभयो । उहाँले पार्टीलाई निष्पक्ष र न्यायका आधारमा संचालन गर्न र सहमतिको संस्कार विकास गर्न आफुहरु निरन्तर छलफलमै रहेका बेला बहुमतको आधारमा अगाडी बढको भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु विधि र परम्परा विपरित भएको बताउुनभयो । उहाँले पार्टी खतरामा परेको भन्दै देशभरका कार्यकर्तालाई सजग रहन समेत आग्रह गर्नुभयो । त्यस्तै सरकारले समेत भ्रस्टाचारका गतिविधि अगाडी बढाएको भन्दै पार्टी र सरकार दुवैसँग एकसाथ लडनुपर्ने बेला आएको बताउनुभयो । उहाँले गोकर्णको जग्गा, दरबारमार्गको जग्गा लगायतमा भएका सरकारको निर्णयको विरुद्धमा समेत लडने बताउनुभयो । पार्टीभित्रका समस्या समाधान गर्नका लागि नेता प्रकाशमान सिंहको नेतृत्वमा छलफल भइराखेको अवस्थामा सहमति नगरी एकलौटी निर्णय भएको भन्दै सभापतिको निर्णयले कांग्रेसको अस्तित्व खतरामा परेको पौडेलले बताउनुभयो ।

Spread the love