अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–२ को अँधेरी खोलले बगाएको पक्की पुल नबन्दा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ ।
जिल्ला सदरमुकाम मन्थली र काठमाडौंबाट दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्रसम्मपुग्ने ढोइगाउँस्थित अँधेरी खोलाको पुल गत भदौ महिनामा आएको बाढी पहिरोले बगाएको थियो ।
पुल बगाएको एक वर्षमा पनि पुल निर्माणको काम सुरु नभएको मात्र होइन अन्य कुनै वैकल्पिक व्यवस्था समेत नहुँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ ।
स्थानीय थिर बहादुर थापा मगरका अनुसार दोरम्बा शैलुङ गाउँपालिका १, २ तथा सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्र आउजाउ गर्ने मुख्य सडकमा रहेको सो पुल बगाएको ठाउँमा अहिले खोलैबाट सडक सञ्चालनमा छ ।
वर्षाको बेलामा यातायात साधन मात्र होइन पैदल यात्रीलाई पनि खोला तर्न निक्कै समस्या परेको उनले बताए । पहिरोले खोलामा राखिएको झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको छ । सो झोलुङ्गे पुल समेत मर्मत नहुँदा स्थानीय जोखिम मोलेर खोला तारिरहेका छन् ।

Spread the love