नेपाल र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गर्ने सरकारको निणर्य

सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ । चैत १४ गते सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल र जनवादी गणतन्त्र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधा सम्बन्धी एलओई स्वीकृत गर्ने निणर्य गरेको हो । मन्त्रीपरिषद्का निणर्य सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययन सम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निणर्य गरेको पनि बताउनु भयो । प्रवक्ता कार्कीका अनुसार सरकारले चीन सरकारसँग भएको ‘इप्लीमेण्टेशन एग्रिमेण्ट अफ चाइना एड अन आयल एण्ड ग्यास रिसोसेस सर्भे प्रोजेक्ट नेपाल’ सम्झौताको दुई वर्ष समयावधि थप गर्ने र नेपाल-चीन सरकारबीचको ग्रेड आवद्धताको सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता स्वीकृत गरेको छ । त्यस्तै सरकारले कतारमा मार्च २६ र २७ मा सम्पन्न हुने दोहा फोरमको २० औँ संस्करणको सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीको भ्रमणमा समर्थन गर्ने जनाएको छ।
प्रवक्ता कार्कीले सरकारले नेपाल राजश्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र डा. जीवन अंगाईलाई नियुक्त गर्ने निणर्य गरेको पनि बताउनु भयो । त्यस्तै सरकारले दुग्ध विकास संस्थाको महाप्रवन्धकमा सञ्जिव झालाई नियुक्त गर्ने निणर्य गरेको छ । प्रवक्ता कार्कीले मन्त्रीपरिषद्ले जापानका लागि नेपालका पूर्व राजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने ‘द अर्डर अफ जापान, द अर्डर अफ राइजिङ सन गोल्ड एण्ड सिल्भर स्टार’ सम्मान ग्रहण गर्न स्वीकृत दिने जनाएको छ । त्यस्तै सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने पनि निणर्य गरेको छ ।

Spread the love