फागुन १७,काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नु भएको छ ।
बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नु भएको हो । पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताउनु भयो । उहाँले पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको कामकारबाहीले देखिने दावी गर्नु भयो ।
कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताउनु भयो । उहाँले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताउनु भयो । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धि ऐन समय सापेक्ष नभएको बताउनु भएको छ । उहाँले पुँजीबजार सुधारको लागि अहिले भएका नीतिगत व्यवस्थाहरुलाई संशोधन गर्नु पर्ने आवश्यक रहेको बताउनु भयो । कार्कीले शेयर बजारलाई प्रभावकारी बनाउनको लागि प्राविधिको अध्ययन गर्नु पर्ने जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो,‘कसरी प्रभावकारी रुपमा हाम्रो मन्त्रालय र सरकारको स्पेश बढाउन सकिन्छ भनेर विभिन्न पक्षहरुसँग छलफल भइरहेको छ। केही भएका प्रावाधनहरु र नेप्सेमा जडान गरिएका प्रविधिहरुको अध्ययन गर्ने काम भएको छ । मन्त्री ज्युको निर्देशन अनुसार पुँजीबजार सम्बन्धि नीतिगत सुधारको लागि पुँजीबजार ऐन २०६३ रहेको छ । यो ऐन समय सापेक्ष छैन । त्यसलाई पनि हामीले सुधार गर्नुपर्छ ।’
त्यस्तै अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तराष्ट्रिय बजारमा प्रभावकारी देखाउनु पर्ने बताउनु भयो । उहाँले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिनुभयो ।
कार्यक्रममा पुँजीबजारलाई नियमनकारी निकायका दुबै प्रमुखले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नू पर्ने जोड दिनु भएको छ । अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउनु निर्देशन दिनु भएको छ भने पुँजीबजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनु पर्ने बताउनु भयो ।
