बीआरआई सम्मेलनमा नेपालको सहभागीता, अर्थमन्त्री पौडेलद्धारा सम्बोधन

असार १०, काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्मेलनमा नेपालले सहभागीता जनाएको छ । चीनले नेपालसहित एशिया प्रशान्त क्षेत्रका मुलुकका परराष्ट्र र अर्थमन्त्रीहरुसँग  केन्द्रित रहेर एक उच्चस्तरीय सम्मेलन आयोजना गरेको हो ।

चीनले ३० देशका प्रतिनिधिहरुलाई एकै ठाउँमा भेला पारेर बीआरआई र कोरोना महामारीबारे छलफल गरेको थियो । विश्वका धनी मुलुकहरुको क्लब जी–७ ले बीआरआईलाई काउन्टर गर्न बी–३ डब्ल्यू परियोजना अगाडि सारेलगत्तै चीनले यो आयोजना गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

नेपालको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले सम्मेलनलाई सम्बोधन गरेका थिए । उनले कोरोना महामारीलाई पराजित गर्नका लागि विश्वव्यापी सहकार्य, एकता र ऐक्यवद्धता आवश्यक पर्ने बताए ।

संयुक्त राष्ट्रसंघ र अन्य विभिन्न संस्थाका प्रतिनिधिहरु पनि सो सम्मेलनमा सहभागी थिए । सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले एक लिखित सन्देश पठाएका थिए । सो कार्यक्रमको अध्यक्षता चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सिले चीनले अन्य मुलुकहरुसँग बीआरआई मार्फत नजिकको सहकार्य गर्न चाहेको उल्लेख गरेका थिए । उनले मुलुकहरुको बीचको सहकार्य र विकासलाई नयाँ गति दिनुपर्ने उल्लेख गर्दै चीनले अगाडि सारेको सिल्क रोडलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

आफ्नो लिखित सन्देशमा सिले भने, ‘गत ८ वर्षमा १४० मुलुकले बीआरआई सहकार्य गर्ने प्रतिवद्धता सहित हस्ताक्षर गरेका छन् र बढीभन्दा बढी सहकार्य गर्न इच्छुक साझेदार आएका छन् ।’

चिनियाँ राष्ट्रपतिले वृहत परामर्श, संयुक्त योगदान, साझा फाइदा, खुलापन, हरित विकास र दीर्घकालीन विकास बिआरआईका मुख्य सिद्धान्त रहेको बताए । उनले चीन विकासको नयाँ चरणमा पुगेको उल्लेख गर्दै उनले विकासको नयाँ अवधारणालाई अगाडि बढाएको र यसले साझेदार मुलुकलाई बजार तथा लगानी वृद्धिमा थप अवसरहरु प्रदान गर्ने बताए ।
सन् २०१३ मा परियोजना सन्चालन भएयता बीआरआई मार्फत चीनले अहिले विभिन्न मुलुक र क्षेत्रमा १३६ विलियन अमेरिकी डलर लगानी शुरु गरिसकेको छ ।

पछिल्लो दुई वर्षयता कोरोना महामारीका कारण बीआरआईका परियोजनाहरु निर्माणमा केही सुस्त छ भने नयाँ सम्झौतामा पनि ढिलाइ भएको छ ।

पछिल्लो पटक जी–७ मुलुकले बीआरआईलाई काउन्टर गर्न भन्दै बी–३ डब्ल्यू परियोजना अगाडि सारेपछि चिनियाँ विज्ञ र संचारमाध्यममा यस सम्बन्धमा बहस भइरहेको छ । चिनियाँ विज्ञहरुले सो परियोजना कार्यान्वयन हुनेमा आशंका रहेको टिप्पणी गरिरहेका छन् ।
अहिले १४० मुलुक र क्षेत्र अनि ३२ अन्तर्राष्ट्रिय संस्थाहरुले बीआरआईमा सहकार्य गर्ने विषयमा हस्ताक्षर गरेका छन् । जी–७ को एक सदस्य इटलीले पनि बीआरआईमा सहकार्य गर्ने चीनसँग सम्झौता गरेको छ । पछिल्लो पटक चीन बिश्वमा शक्ति राष्ट्रका रुपमा उदाएको छ ।
(स्रोतः अन्तराष्ट्रिय समाचार एजेन्सी)

 

Spread the love