काठमाडौं । गत जेठ देखि बन्द रहको मलेसियाको रोजगारी अब खुल्ने भएको छ । मलेसियाले विशेष कोटामा नेपालबाट श्रमिक लैजाने भएपछि मलेसियाको रोजगारी खुल्ने भएको हो। मलेसियन सरकारले प्लान्टेसन लगायतका क्षेत्रमा कोटा तोकेर श्रमिक लिने नीति बनाएको बुझिएको छ । मलेसियाले वृक्षारोपण तथा कमोडिटी मन्त्रालय अन्तरगतको ‘प्लान्टेसन’ क्षेत्रमा श्रमिक लिन लागेको हो ।
वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मलेसियास्थित दूतावासले यसैसाता १ हजार ७ सय ८० श्रमिकको मागपत्र प्रमाणीकरण गरेको छ । म्यानपावर कम्पनीहरूले केही दिनमा नै मागपत्र अनुसार पूर्व श्रमस्वीकृति लिएर विज्ञापनहरू प्रकाशन गर्ने भण्डारीले जनाएका छन् । मलेसियाको प्लान्टेसन लगायतका क्षेत्रमा करिब ४ हजार नेपाली श्रमिकले रोजगारीका पाउने उनले बताए ।
प्लान्टेसन क्षेत्रमा श्रमिक पठाउन म्यानपावर व्यवसायीले केही अघि क्वाललम्पुरस्थित नेपाली दूतावासमा मागपत्र पेस गरेपनि प्रमाणीकरण गरेको थिएन । यसैसाता दूतावासले मागपत्र प्रमाणीकरण कार्य अगाडि बढाएपछि मलेसियामा श्रमिकहरू जान पाउने भएका हुन् ।
मलेसियामा अहिले ५ लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान गरिएको छ