आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्यांकहरुको निर्माण शुरु

नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण शुरु गरेको छ । निगमको मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण कार्य शुरु भएको हो । निगमले मोतीहारी-अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी-अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भएपनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।  अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरुको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको शुरुवात गरिएको बताउनु भयो । उहाँले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको बताउनु भयो । उहाँले दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १/१ वटा ट्यांकको लागत व्यहोर्ने जानकारी दिनुभयो ।
प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताउनु भयो । उहाँले निगमले करिव ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको बताउनु भयो । उहाँले निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताउनु भयो । उहाँले निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको बताउनु भयो । उहाँले भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्नीकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपैयाँ वचत हुने बताउनु भयो । उहाँले अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्चमा वार्षिक रुपमा करिव २ अर्ब रुपैयाँ वचत भएको बताउनु भयो । उहाँले दोस्रो चरणको भर्टिकल ट्यांकहरु निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताउनु भयो । प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूणर् स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताउनु भयो । उहाँले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माण समेत हुने बताउनु भयो ।
उहाँले आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने बताउनु भयो । उहाँले अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शुन्य हुने बताउनु भयो । उहाँले यसबाट प्राविधिक नोक्शानी शुन्य हुने, ढुवान भाडा वचत हुने तथा वातावरणीय प्रदुषण कम गर्न समेत सहयोग पुग्ने बताउनु भयो । उहाँले तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा अर्बौं रुपैयाँ वचत हुने अनुमान रहेको बताउनु भयो । उहाँले तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा ७ सय ट्यांकर आवाजावत हुने बताउनु भयो । उहाँले दोस्रो चरणको निर्माण कार्य सम्पन्न हुँदा अमलेखगञ्जको सम्पूणर् काम अटोमेटिक रुपमा हुने बताउनु भयो । उहाँले पाइपलाइनको ४२ प्रतिशत प्रयोग भएपनि दोस्रो चरणको निर्माण कार्यसम्पन्न हुँदा पूणर्रुपमा प्रयोग हुने बताउनु भयो ।
निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल समेत आयात गर्न सम्भव भएपनि भण्डारण गर्ने क्षमता नहुँदा तीन वर्षसम्म ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो । उक्त परियोजनाको लिखिता इन्फास्ट्रक्चर प्रा.लि. ले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । ९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीति अनुसार थप ५/५ हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारी समेत शुरु गरिएको छ । सम्पन्न भएपश्चात मात्रै ५ दिनको माग धान्नसक्ने डिजेल र ७ दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने भएको छ ।

Spread the love