उपत्यकामा निषेधाज्ञा थपियो, तर पुस्तक पसल खोल्न पाईने

जेठ ३०, काठमाडौं । उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । उपत्यकाका तिनवटै प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञा असार ७ गतेसम्म थपिएको हो ।

प्रजिअहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेका छन् । पुस्तक पसल खोल्न, अनलाईन डेलिभरी दिन र खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

निषेधाज्ञाबारे निर्णय लिने बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुनः खोल्न दिइएको थियो ।

किराना र डिपार्टमेन्ट स्टोर यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । सार्वजनिक निर्माणमा प्रयोग हुने निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइन्छ । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।

शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।
विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।

 

 

Spread the love