नेप्से हालसम्मकै उच्च विन्दुमा, साढे १९ अर्ब माथिको कारोवार

जेठ ३०, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक तीन हजार नजिक पुगेको छ । सातको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगैै कारोबार रकममा समेत उल्लास देखिएको छ । ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार करम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको छ ।

साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । गत बिहीवार १ दशमलव ८० अंकले घटेर २ हजार ९४४ दशमलव ७८ विन्दुमा बन्द भएको बजार आइतवार २ हजार ९८३ दशमलव ११ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ दशमलव ३० प्रतिशत अर्थात् ३८ दशमलव ३२ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस अघि जेठ २५ गते कायम भएको २ हजार ९६० दशमलव १४ को उच्च विन्दुलाई आइतवार नेप्सेले ब्रेक गरेको हो ।

आइतवार २ हजार ९६५ दशमलव ७७ विन्दुदेखि खुलेको बजार २ हजार ८५७ दशमलव ८८ विन्दुसम्म झरेर उकालो लागेको हो । डेढ महीनादेखि जारी निषेधाज्ञाका कारण अन्य व्यवसायिक क्षेत्र बन्द रहँदा शेयर बजारमा सबै क्षेत्रको लगानी भित्रिएको हो ।

दैनिक बजारमा लगानी बढ्दै जाँदा बजारको स्वच्छता एवम् पारदर्शिता तर्फपनि सरोकारवाला निकायहरुले ध्यान दिईरहेका छन् । आइतवारदेखिनै लगानीकर्ताहरुले टिएमएसमा भएको अल अर नन (एओएन) सुविधा प्रयोग गर्न पाएनन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले आइतवारदेखिनै खरिद आदेशमा मात्र उक्त सुविधा प्रयोग गर्न नमिल्ने बनाएको हो ।

लगानीकर्ताहरुकै सुविधाका लागि उपलब्ध गराएको एओएन सेवाको दुरुपयोग गरी कृत्रिम मूल्य सृजना गरेको भन्दै नेप्सेले बोर्डको निर्देशनमा उक्त सेवा प्रयोग गर्न नमिल्ने बनाएको हो ।

यो सेवाको प्रयोग गरी लगानीकर्ताहरुले खरीद वा विक्री आदेश प्रविष्टि गर्दा सबै कित्ता शेयर कारोबार हुन्छ । आदेश दिएकोभन्दा कम शेयर कारोबार हुँदैन । अब भने आफ्नो खरीद आदेशभन्दा कम विक्री आदेश हुँदा पनि कारोबार गर्न सकिने व्यवस्था भएको हो । धेरै लगानीकर्ताहरुको बुझाइमा नपरेको यो विषयका कारण कारोबारमा भने कुनै समस्या नपर्ने नेप्सेले बताएको छ ।

आइतवार कारोबार रकमले पनि फेरी रेकर्ड ब्रेक गरेको छ । यसअघि जेठ २३ गते भएको रू. १७ अर्ब २७ करोड १७ लाख ८७ हजार बराबरको सर्वाधिक रकमको कारोबारलाई ब्रेक गर्दै आइतवार रू. १९ अर्ब ५५ करोड १ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन उक्त रकम बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर कारोबार भएको छ ।

यस दिन सर्वाधिक रकमको शेयर कारोबार अरुणभ्याली हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको रू. ७२ करोड २९ लाख ७६ हजार बराबरको शेयर कारोबार भएको हो ।

 

 

Spread the love