एनसेलको शेयर खरिदबिक्रीको सरकारले छानबिन गर्ने

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा सरकारले छानबिन गर्ने भएको छ ।
उक्त कम्पनीको शेयर खरिदबिक्रीका विषयमा सञ्चारमाध्यमहरुमा आएका समाचारले ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा सत्ता गठबन्धन दलका शीर्ष नेतासँगै सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने बताइन । सरकारका प्रवक्तासमेत रहेकी उनले यसबारे प्रेस विज्ञप्ति पनि जारी गरेकी छन् ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री दाहालले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको विज्ञप्तिमा छ ।

‘नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याउने पनि उल्लेख छ ।

Spread the love