एमडिएमएस प्रणाली तत्काल लागू हुन्छ : अर्थमन्त्री

मङ्सिर १५,काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताउनु भएको छ ।

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अबैध रुपमा नेपालमा आयात मोवाइल फोन बन्द हुने बताउनु भयो । उहाँले अबैध रुपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारको भएको बताउनुभयो । सरकार आफ्नो दायित्वबाट पछि नहट्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रुपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताउनु भयो । उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्नसक्ने बताउनुभयो । अब मोवाइल पनि नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई आग्रह गर्नु भयो । उहाँले नेपालमा मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुट देखि अन्य धेरै सुविधा दिन तयार रहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले मोबाइलमा फोनको लागि मात्र नभएर विभिन्न सुविधा रहेको भन्दै त्यसलाई चलाउनको लागि क्षमता वृद्धि गर्नुपर्ने पनि बताउनु भयो । मन्त्री शर्माले मोबाइल आवश्यकताको वस्तु भइसकेकाले यसलाई सरकारले कुनै किसिमको हस्तक्षेप गर्न सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले मोबाइल फोन बिलासिताको बस्तु भए सरकारले कडाइ गर्दैन व्यवसायी ढुक्क हुुन आग्रह गर्नु भयो । त्यस्तै,अर्थमन्त्री शर्माले आजको विश्व डिजिटल बनिसकेकाले नेपाललाई पनि सरकारले डिजिटल नेपाल बनाउने अभियानमा रहेको बताउनुभयो ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मोबाइल फोन बिलाशिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताउनुभयो । उहाँले व्यवसायी क्षेत्र मुलुुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले बैंक तथा वित्तीय क्षेत्रसँग सँगै सहकार्य र लगानी गर्ने तयार रहेको बताउनुभयो । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार देखि काठमाडौंमा सुरुभएको छ ।

 

Spread the love