एमाले विधान महाधिवेशन आज सकिदै : अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ ।
ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनको अनुसार आज ८ बजेदेखि विधान महाधिवेशनको बन्दसत्रसुरु भएको छ । उनले बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्ने र त्यसको जवाफ पार्टी अध्यक्षले दिने समेत कार्यसूची रहेको बताए ।
महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हिजो दोस्रो दिन केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेपछि समूहगत छलफल थालेका हुन् । प्रतिनिधिलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको छ ।

Spread the love