काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेल सुरु हुनु भन्दा ९० मिनेट अघि टिमको नाम दिनुपर्ने प्रावधान अनुसार प्रशिक्षक सँग लिष्ट मागेको र उक्त लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफूहरुले कप्तानको नाम पठाउनु परेको बताइन्।
उनले कप्तानको नाम रेनुका लेखेर बुझाएपछि मात्र हेडकोचले साम्बालाई कप्तान बनाउने कुरा खुलाएको भन्दै त्यसपछि समस्या भएको पनि बताईन् ।
छनोट अन्तर्गत पहिलो खेलअघि नेपाली महिला फुटबल टोलीको कप्तान एक घन्टामै परिवर्तन गरिएको थियो ।पहिलो खेलमा नेपाली महिला फुटबल टिमको कप्तानको जिम्मेवारी सुरुमा रेनुका नगरकोटीलाई दिएको थियो भने त्यसपछि केही समयमा नै सावित्रा भण्डारी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइएको थियो ।