करिब १६ खर्बको बजेट हुने, नयाँ कार्यक्रम के के ?

जेठ १४, काठमाडौं । भोली शनिबार सरकारले करिब १६ खर्ब रुपयाँको बजेट ल्याउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
बजेटमा कोरोना नियन्त्रणका धेरै कार्यक्रम समेटिएको स्रोतले उल्लेख गरेको छ ।

गत वर्ष कोभिडकै कारण बजेटको आकार घटाइएको थियो । यस वर्ष भने स्रोतको संकटकै बीच बजेटको आकार बढाउने मन्त्रालयले तयारी गरेको छ ।
योजना आयोगले पठाएको सिलिङ र बजेटको अंकगणितलाई हेर्दा १६ खर्बको हाराहारीमा बजेट आउने सम्भावना छ ।
करिब १६ खर्बको बजेट आएमा मध्यकालीन खर्च संरचना अनुमान नजिक बजेट प्रस्तुत हुने देखिन्छ । मध्यकालीन खर्च संरचनाले आर्थिक बर्ष २०७८÷०७९ का लागि १६ खर्ब ९७ अर्ब रुपैयाँको बजेटको सिलिङ तोकेको छ ।

चालू आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरिएको थियो । कोभिड १९ का कारण राजस्व तथा आम्दानीको स्रोत संकुचित हुने भएपछि ५९ अर्बले बजेटको सिलिङ घटाइएको थियो ।

स्रोत व्यवस्थापनका लागि आगामी आर्थिक बर्षको बजेटमा राजस्व २० प्रतिशत बृद्धि गर्ने लक्ष्य राखिएको छ । महेश दाहाल नेतृत्वको राजस्व परामर्श विकास समितिले २० प्रतिशत राजस्व बृद्धि गर्न सकिने आधारहरु सहित प्रतिवेदन पेस गरेको थियो ।

त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन आयोगले ५.५ प्रतिशतसम्म आन्तरिक ऋणको सीमा बृद्धि गर्नका लागि सरकारलाई अनुमति दिएको छ । जसअन्तर्गत करिब २ खर्ब ३५ अर्बसम्म सरकारले आन्तरिक ऋण विकास खर्चका लागि उठाउन सक्ने भएको छ ।

त्यस्तै वाह्य ऋण पनि सरकारले बृद्धि गर्ने देखिन्छ । आगामी आर्थिक वर्षको बजेटमा राजस्वबाट करिब १० खर्व ५० अर्ब र आन्तरिक तथा बाह्य ऋण मार्फत ५ खर्ब ५० अर्ब रुपैयाँको स्रोत व्यवस्थापनका लागि खर्च गर्ने देखिन्छ ।

चालू आर्थिक वर्ष सरकारले कर तथा गैह्र कर राजस्वमार्फत १० खर्ब १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै बाह्य ऋण २ खर्ब २५ अर्ब र बाह्य ऋण २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले चुनाव केन्द्रित केही लोकप्रिय कार्याक्रमहरु समावेश गर्नेछ । बृद्धभत्तासहित सामाजिक सुरक्षाभत्ता ५ हजारसम्म पु¥याउने, कर्मचारीको तलव २० प्रतिशतले बढाउने, उद्योगी–व्यवसायीलाई राहत दिने, युवा केन्द्रित लोकप्रिय कार्यक्रमहरु आगामी बजेटमा प्रस्तुत गर्न लागिएको अर्थमन्त्रालय स्रोत बताउँछ ।

बृद्ध वा युवा, व्यापारी तथा कर्मचारीलाई खुसी बनाउने खालको बजेट ल्याएर चुनावमा मतदाता प्रभावित पार्ने सोच सरकारले राखेको स्रोतको भनाइ छ । बर्तमान अर्थमन्त्री बिष्णुप्रसाद पौडेल अर्थतन्त्रको विज्ञभन्दा पनि राजनीतिक व्यक्ति भएकाले लोकप्रिय बजेट ल्याउन चाहन्छन् ।
आर्थिक क्षेत्रको पुनरुत्थानका लागि पनि उल्लेख्य रकम विनियोजन गर्ने तयारी सरकारले गरेको छ । सहुलियतपूर्ण कर्जा तथा पुनःकर्जा, बिद्युत महसुल तथा डिमाण्ड शुल्कमा छुट, उद्योगी–व्यवसायीलाई ब्याजदरमा छुट, व्यवसायीक निरन्तरता कर्जा, रोजगारी लगायतका क्षेत्रमा आगामी आर्थिक वर्षको बजेटले सम्वोधन गर्ने अर्थ मन्त्रालयको भनाई छ ।

 

Spread the love