काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरु धुम्रपान निषेध गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागू गर्न श्रावण ९ गतेदेखि महिना भर प्रचार प्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिए ।
उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन् ।
यसको साथै,उनले तोकिएको स्थानमा बाहेकका स्थलमा सवारी साधन पार्किङ् गरेमा सबै किसिमका तीन पांग्रे सवारी साधन मोटरसाईकल, स्कूटरलाई १ हजार, सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप,डेलिभरी भ्यान) लाई २ हजार ५ सय, सबै किसिमका मझौला सवारी साधन (मिनीबस, मिनीट्रक आदि)लाई ३ हजार ५ सय, सबै किसिमका ठूला सवारी साधन (बस, ट्रक, लहरी आदि)लाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय पनि भएको बताए ।
उनको अनुसार,पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्बजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथाप्रचार समाग्री बितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ भने गल्ती दोहोरिएमा प्रतिपटक दोब्बर हुने निर्णय पनि भएको छ ।