काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकार तमोर जलाशय युक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनप्रति गम्भीर रहेको बताएका छन् ।
मन्त्री खड्काको संयोजनमा मन्त्रालयमा सम्पन्न एक उच्चस्तरीय छलफलमा उनले उक्त आयोजनालाई ठोस कार्ययोजना बनाएर अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।
छलफलमा ७५६ मेगावाट क्षमताको तमोर जलाशय युक्त आयोजनाबाट विद्युत उत्पादनसँगै पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लामा करिब एक लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा सिंचाइ सुविधा र्पुयाउने सम्भावनाबारे विस्तृत प्रस्तुति गरिएको थियो।
चिसाङ सिंचाई आयोजना मार्फत पानी वितरण गरिने यस आयोजनाले ऊर्जा, कृषि, रोजगारी सिर्जना, जल यातायात र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान र्पुयाउने बताइन्छ ।

सरकारी संयोजन र समन्वयको अभावले धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दै मन्त्री खड्काले विदेशी लगानीकर्ताको चासो बढिरहेको सन्दर्भमा ढिलाइ नगरी व्यावहारिक मोडेलमा आयोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, ऊर्जा सचिव सुरेश आचार्य, सिंचाई सचिव सरिता दवाडी, राष्ट्रिय योजना आयोगका सदस्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायत सरोकारवालाहरूको उपस्थिति थियो। सहभागीहरूले आगामी आर्थिक वर्षको बजेटमै आयोजना कार्यान्वयनका लागि आवश्यक बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
सरकारको स्पष्ट नेतृत्व र दिगो कार्य योजना मार्फत तमोर आयोजना अब निष्कर्षमुखी कार्यान्वयनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
