काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले सम्झौता बमोजिम काम नगर्ने चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबारदेखि लागू हुने गरी चार वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।
जसमा भारतको पश्चिम बंगालका आदित्य सितानीको एम.पी. सितानी एण्ड सन्स, सुर्खेतका सूर्यबहादुर खड्काको सूर्य कन्स्ट्रक्सन र सुरेन्द्रराज अधिकारीको काठमाडौंमा रहेको एलिट कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो ।
यी तीन कम्पनीले मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय पर्वतबाट ठेक्का लिएर सम्झौता बमोजिम काम नगरेको कार्यालयले जनाएको छ ।
त्यस्तै, पोखरा महानगरपालिकाको सिफारिसमा भावेश बोहरा मुख्य व्यक्ति रहेको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई पनि दुई वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

Spread the love