गत आर्थिक बर्षमा ३ सय मेगावाट बिजुली थपियो

साउन ८, काठमाडौं । सरकारले गत आर्थिक वर्षमा ३ सय मेगावाट मात्रै विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने घोषणा गरेको भए पनि ३ सय मेगावाट विद्युत् मात्रै थपिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने घोषणा गरेका थिए । तर नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष ३ सय १३ मेगावाट विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको देखिन्छ । जसमा ३० मेगावाट हिस्सा सौर्य ऊर्जाको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा निजी क्षेत्रका आयोजनाबाट करिब ६ सय ९६ मेगावाट र प्र्राधिकरणका आयोजनाबाट ५ सय ८२ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको थियो । तर गत आर्थिक वर्षमा भने हाँडीखोला १ मेगावाट, अपर रावाखोला ३ मेगावाट, नामार्जुन मादी १२ मेगावाट, घट्टेखोला ५ मेगावाट, विजयपुर दोस्रो ४.५ मेगावाट, अपर चाकु ‘ए’ २२ मेगावाट, मिस्त्रीखोला ४२ मेगावाट गरी ७ वटा आयोजना राष्ट्रिय प्रणालीमा जोडिएर व्यावसायिक उत्पादन गरिरहेका प्राधिकरणले जनाएको छ ।

अन्य आधा दर्जन आयोजनाको पनि परीक्षण उत्पादन सुरु गरी राष्ट्रिय प्रणालीमा जोडिएको छ । जसमध्ये माइबेनी १० मेगावाट, सिंगटीखोला २५ मेगावाटले भर्खरै परीक्षण उत्पादन सुरु गरेका छन् । योबाहेक बुटवल सोलारको ८.५ मेगावाट, मिथिला सोलारको १० मेगावाट, प्राधिकरणको नुवाकोटस्थित सोलार आयोजनाबाट १२ मेगावाट गरी ३०.५ मेगावाट सौर्य ऊर्जा पनि राष्ट्रिय प्रणालीमा जोडिएको छ । दुईवटा चिनी मिलले उत्पादन गरेको ६ मेगावाट विद्युत् पनि गत आर्थिक वर्षमै राष्ट्रिय प्रणालीमा जोडिएको तिम्सिनाले जानकारी दिए । माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

सरकारले माथिल्लो तामाकोसीको ४ सय ५६ मेगावाटसहित केही ठूला आयोजनाको निर्माण पूरा भएर राष्ट्रिय प्रणालीमा जोडिने अनुमानसहित गएको बजेटमा १ हजार ३ सय मेगावाट विद्युत् थपिने घोषणा गरेको थियो । तर कोरोना महामारीका कारण धेरै आयोजनाको निर्माण तालिका प्रभावित हुँदा थोरै विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

माथिल्लो तामाकोसीको दुई वटा युनिटबाट परीक्षणका रूपमा उत्पादन गरिएको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । तर परीक्षण थालिएको केही दिनमै प्राविधिक कमजोरी देखिएपछि पहिलो युनिटको विद्युत् उत्पादन परीक्षण तत्काललाई रोकिएको आयोजना स्रोतले जानकारी दियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ मा पहिलो युनिटबाट परीक्षण उत्पादनको थालनी गरेका थिए । आयोजनाको दोस्रो युनिटबाट उत्पादित ७६ मेगावाट विद्युत् भने राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

 

 

Spread the love