चिलीमा भीषण आगलागी एक हजारभन्दा धेरै घर जले, कम्तिमा ५१ जनाको मृत्यु

काडमाडौं । मध्य चिलीमा जंगलमा लागेको आगोले भीषण रुप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ । आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार टोली पुग्ने सकेको छैन ।
करिब १० लाख बासिन्दाको घर रहेको भाल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुँवा आकाशमा उडिरहेको छ । अग्नी नियन्त्रक हेलिकप्टर र ट्रकहरु प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ । तर कठिन भएको छ ।
चिलीका गृहमन्त्री क्यारोलिना तोहाले देशको मध्य र दक्षिणी क्षेत्रका ९२ वटा जङ्गलमा आगो लागेको, र त्यसले भीषण रुप लिँदा एक हजारभन्दा धेरै घरहरु जलेर नष्ट भएको पुष्टि गरिन् । उनका अनुसार मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ ।
‘हाम्रो लागि सबैभन्दा ठूलो चिन्ताको विषय यो आगो सघन बस्तीमा फैलिँदै गएको छ । जसका कारण मानिस, घर र सुविधामा असर परिरहेको छ,’ उनले भनेकी छन् ।
चिलीमा जंगलमा आगलागी हुनु सामान्य कुरा हो । गत वर्ष आगोले २७ जनाको ज्यान गएको थियो भने चार लाख हेक्टरभन्दा बढी जमिन प्रभावित भएको थियो । गृहमन्त्री तोहाले गत वर्षको तुलनामा यसपटक आगलागीको क्षेत्र निकै कम भए पनि तीव्र गतिमा फैलिरहेको बताइन् ।
चिलीका राष्ट्रपति गेब्रियल बोरिकले राष्ट्रलाई टेलिभिजन सम्बोधनमार्फत् स्थिति धेरै गाह्रो अवस्थामा पुगेको बताएका छन् ।

Spread the love