नयाँ सरकार स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्छ ः मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताउनुभएको छ । सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्रालयको आफ्नो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले नेपालमा सबैभन्दा चुनौतिको विषय स्वदेशमा नै रोजगारी सिर्जना गर्नेकुरा रहेको बताउनु भयो । उहाँले अहिले देश वैदेशिक रोजगार र रेमिट्यान्समा रमाएको भएपनि यसबाट दिगो खुशी र समृद्धि नमिल्ने बताउनु भयो । उहाँले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरालाई कर्मचारीतन्त्रले दूरदृष्टि राखेर काम गर्न आवश्यक रहेको बताउनु भयो । मन्त्री कुँवरले पुनः एकीकरणको कार्यक्रमबाट पनि रोजगारी सिर्जना गर्नसकिने र सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदा पनि नेपालमा रोजगारीको मात्रा सिर्जना हुने बताउनु भयो । उहाँले नेपालमा रोजगारी सिर्जना भएका ठाउँमा नेपाली श्रमीकहरु नहुनु दुःखद् भएको बताउनु भयो । उहाँले नयाँ सरकार गठनको प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउनु भयो ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या दिनप्रतिदिन बढीरहेकाले उनीहरुको समस्या समाधान गर्न हिच्किचाहट नगर्न आग्रह गर्नुभयो । उहाँले आफू मन्त्रालयबाट बिदा भएको भएपनि सिंहदरबार र संसदबाट टाढा नरहने बताउनु भयो । उहाँले मन्त्री क्वार्टर पनि आफूले छोडिसकेको जानकारी गराउनु भयो ।

Spread the love