नविल बैंकद्धारा वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लाण्ट हस्तान्तरण

असार २९, काठमाडौं। नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा नबिलले उक्त प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको हो। उक्त प्लान्ट स्थापनाकालागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको बैंकले जनाएको छ ।

कोभिड १९ को महामारी विश्वभर फैलिरहेको अवस्थामा अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्तिमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड १९ को महामारी शुरु भएदेखि नै सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

गत वर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई ६ करोड रुपैयाँ नगद सहयोग गरेको थियो । बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासंग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासकालागि काम गर्दै आएको छ ।

आगामी दिनमा पनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तरता दिने बैंकले जनाएको छ ।

 

 

Spread the love