प्रधानमन्त्री पदमा देउवाद्धारा सपथ ग्रहण

असार २९, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले आज मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८÷३÷२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति सच्चिएपछि मात्र शपथ लिएका हुन् ।

समारोहका उद्घोषकले सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री भएको जानकारी गराएका छन् ।

शपथग्रहण समारोकमा निवर्तमान केपी शर्मा ओली भने सहभागी भएका थिएनन् । राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ ग्रहण मङ्गलबार साँझ ६ बजे हुने जानकारी गराएको भए पनि विज्ञप्ति सच्याउन भएको ढिलाइका कारण शपथग्रहण पनि पछि धकेलिएको थियो ।

देउवा २०५२ सालमा एमाले प्रधानमन्त्री मनमोहन अघिकारीले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना गराएर पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसको २६ वर्षपछि एमालेकै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन बदर गराएर देउवा प्रधानमन्त्री भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका हुन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनी आज प्रधानमन्त्री बनेका हुन् ।

यसअघि देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलोपटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए ।

त्यसको पाँच वर्षपछि उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा दुई पटक प्रधानमन्त्री भए । देउवाको दोस्रो पटक २०५८ साउन देखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री भएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई हटाएर ०५९ असोज १८ मा शासन सत्ता आफ्नो हात लिएका थिए । लगत्तै आन्दोलन भएपछि देउवालाई ०६१ साल जेठ २१ मा तेस्रो पटक प्रधानमन्त्री भए । तर उनको कार्यकाल ८ महिनाभन्दा बढी हुन सकेन । देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले माघ १९ मा आफैँ शासन सत्ता हातमा लिए ।

उनी २०७४ साल जेठ २३ मा माओवादी केन्द्रको समेत साथ पाएर प्रधानमन्त्री बनेका थिए । आफैँले गराएको चुनावमा नेपाली कांग्रेस हारेपछि चर्को आलोचना खेपेका देउवा अहिले अर्को चुनाव नआउँदै प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री नियुक्त भएसँगै उनले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने छ ।

देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनेछ र देउवाले नै फेरि अर्को चुनाव गराउनेछन् ।

 

 

Spread the love